Sunday, February 15, 2009

कागजी षडयन्त्रमा आप्रबासी महाजन

भनिन्छ ब्यापार व्यवसाय गर्ने बर्ग साहू कहलिन्छन् भने महाजन त्यस्ता साहू हुन् जो देश जनताको सेवा पुग्ने गरी नैतिकतापूर्वक स्वच्छ ब्यापार व्यवसाय गर्छन् । तर आजभोली नैतिकतापूर्वक स्वच्छ ब्यापार व्यवसाय गर्ने भन्ने वाक्यांश नैं अन्तरबिरोधपूर्ण हुन पुगेको स्थिति छ । त्यस्तै देश जनताको सेवा गर्ने काम समाजसेवीको हो जसले ब्यापार व्यवसाय गर्दैन भन्ने मान्यताले पनि जरा गाडी सकेको छ । तर समाजसेवीले पनि देश जनतालाई सेवा पुर् याएको छ भन्दा ब्यंग हुन जान्छ किनभने देश जनताको सेवा पनि लाभपूर्ण ब्यापार व्यवसाय नैं भएको छ । नैतिक एवम स्वच्छ ब्यापार व्यवसाय चल्न सक्दैन भन्ने मान्यता पनि विकसित भएकोले ब्यापार व्यवसायमा सफल हुनेहरु नैतिक र स्वच्छ छन् भन्ने पत्याउन गाह्रो पर्दै गएको अवस्था छ । यस्तो अवस्थामा कसरी एउटा साहू महाजनमा रुपान्तरित हुन्छ भन्ने कुरा शंकास्पद छ ।

लगभग यही स्थिति बिद्यमान देखिन्छ सन् १७०० को दोश्रो दशकताका अठाह्रौं शताब्दीको पूर्वाद्धमा बेलायतमा यदी डेभिड लिसको "कागजी षड्यन्त्र" नामक उपन्यासको घटनाक्रम यथार्थमा आधारित मान्ने हो भने । त्यस बखतको बेलायतमा आप्रबासी यहुदीहरुको व्यापार व्यवसायमा बर्चस्व देखिन्छ जुन आदिबासीहरुले निको मानेको हुन्नन् । इसाई आदिबासीहरु तिनलाई अन्धविश्वासी तथा धूर्त मान्दा रहेछन् र यहूदीले अकूत सम्पत्ति कमाएकोमा आश्चर्य नमान्ने तर राम्रो दृष्टिले पनि नहेर्दा रहेछन् । यिनीहरुबाट आफ्ना सम्पत्ति र छोरी चेली जोगाउनु पर्छ भन्ने पनि आदिबासीमा मान्यता रहेछ । आप्रबासीहरु भने आफ्नो सम्पत्ति आफ्नै जमातमा रहनु पर्छ भन्ने मान्यताले प्रेरित भएर सकेसम्म एकआपसमा मात्र बन्द ब्यापार गर्ने गर्दा रहेछन् ।

तर आप्रबासीहरुको हकअधिकार पनि यति सम्म कुण्ठित गरिएको हुन्छ की उनीहरुले घर जग्गा जस्तो अचल सम्पत्तिमा स्वामित्व प्राप्त गर्न सक्दैनन् र कतिपय ईलाकामा घरधनीहरुले उनीहरुलाई बहालमा पनि राख्न रुचाउंदैनन् । आदिबासीको तुलनामा आप्रबासीमाथि कर पनि बढी दरमा लाग्थ्यो । तैपनि आप्रबासीहरुलाई वित्तियरुपमा सफल हुनबाट कसैले पनि रोक्न सक्दैनथे । नियम काननूले पनि रोक्दैन नियम कानूनका रखवालाहरुले उनीहरुको गोजीमा ढलीमली गरिदिनाले ।

राज्यले आप्रबासीमाथि अर्को किसिमले पनि कुदृष्टि राख्ने रहेछ - राज्यलाई आवश्यक परेको बेलामा आप्रबासीबाट ऋण लिने तर तिर्ने बेला आएपछि आप्रबासीलाई नैं देश निकाला गर्ने काम पनि पटकपटक भएको दर्शाइन्छ यो उपन्यासमा । यसो गर्दा लिएको ऋण तिर्नबाट राज्यले उन्मुक्ति पाउंदोरहेछ । नेपालमा पनि सरकारले आन्तरिक ऋणको नाममा जनताबाट कर्जा त लिन्छ तर तिर्नबाट बच्न यस्तो हथकण्डा भने अपनाएको देखिन्न ।

नेपालमा पनि एउटा विशेष आप्रबासीबर्गलाई सबै बिकृतिहरुको जड मान्ने चलन नैं भइसकेको छ । तर यो कुरा यथार्थपरक छैन । किनभने तथाकथित आदिबासीहरुले पनि नैतिकतापूर्वक स्वच्छरुपमा ब्यापार व्यवसाय गरेको अपबादमा मात्र सीमित छ । स्थिति त आदिबासीले आफ्नो आँगमा भैंसी नदेखेर आप्रबासीको आँगमा जुम्रा देखे जस्तो मात्रै हो । ठोस उदाहरण दिनु पर्दा बैंकको ऋण नतिरेर कालोसूचीमा समाबिष्ट जतिलाई कडा कारवाहीको पैरबी गर्ने एउटा ब्यापारिक घरानाले मद्यपदार्थमा खुल्लमखुल्ला अन्तःशुक्ल छलेकोलाई लिन सकिन्छ । अर्कोतिर एउटा साबुनको कुटीर उद्योग संचालन गर्ने एक उद्यमीले आफ्नो ब्यवसायको प्रारम्भमा आफ्नो चोर औंला गुमाउंछन्, कराहीमा साबुनको कच्चा पदार्थ आफैले घोट्ने, चलाउने क्रममा । तर जीवनको उत्तराद्र्धमा त्यही व्यक्ति दसौं अर्ब रुपैंयाको सम्पत्तको स्वामी बन्छन् । जतिसुकै जोडघटाउ गरेपनि निजसंग अहिले भएको अकूत सम्पत्तिको तर्कसंगत हिसाब निस्कन्न । तर्कसंगत हिसाबको अभावलाई उपेक्षा गर्ने हो भने अहिले यो उद्यमी "महाजन” कहलिन प्रयासरत रहेकोलाई सराहना गर्नै पर्छ, नैतिकता र स्वच्छताको परिधि ननाघ्ने कोशीस गरेर । अझ विषेश गरेर नैतिकता र स्वच्छताको पाठ सिकाएर िहंडेको देख्दा लाग्छ यिनको नैतिकता र स्वच्छतामा एकाधिकार पनि कायम भईसकोछ ।

तर एक्काईसौं शताब्दीको नेपाल र अठाह्रौं शताब्दीको बेलायतमा धेरै हिसाबले समानता भए पनि मूलभूतरुपमा केही तात्विक बिभेद छन् । नेपालमा आप्रबासीहरुले घर जग्गा जस्तो अचल सम्पत्तिमा स्वामित्वको अधिकार प्राप्त गरिसकका छन् र नागरिकतानैं प्राप्त गरेर सबै राजनैतिक अधिकारबाट सुसम्पन्न छन् । कर पनि बढी दरमा लाग्दैन । कुनै इलाका विषेशमा आप्रबासीहरुलाई बस्न नदिने त कुरै छैन, बरु यी आप्रबासीहरुसंग हिमचिम बढाएर आफ्नो प्रतिष्ठा बढ्छ भन्ने आदीबासीहरुको मनोबृत्ति भएको छ । तर पनि यो उपन्यासले बर्णन गरेको उतिबेलाको बेलायत र नेपालमा अहिले बिद्यमान स्थितिमा धेरै समानताहरु देखिन्छन् जुन यस पंक्तिकारलाई अभिरुचिपूर्ण लागेको छ । त्यसैले अब डेभिड लिसको बेलायत तिर एकछीन बरालिऔं ।

बेन्जामीन वीभर एक अवकास प्राप्त ब्याबसायिक मुक्केबाज हुन् । पछिल्लो जुधाईमा एउटा गोडा भांच्ने गरी, पछि खोच्याउन पर्ने गरी, नराम्ररी हारेपछि अवकास लिएका, यस्तो खेल खेलेर तद्उपरान्त कमाउने सम्भावना टुंगिएपछि । त्यतिखेरको बेलायतमा जनपद् प्रहरीको अभावबाट फाईदा उठाएर बेन्जामीनले निजी जासूस र निजी प्रहरीको "व्यवसाय” नैं गर्दछन् । यिनको अर्को काम हो उठ्न नसकेको रकम कलम उठ्तीपुठ्ती गर्ने सेवा प्रदान गरेर शुल्क लिने । यिनको काममा सिलसिलामा आवश्यक परेमा यिनले बल पनि प्रयोग गर्छन । हरहमेसा साथमा रहने तरबार र पेस्तोलको समेत भरपूर प्रयोग गर्छन् - सामान्यतया तसा्रउन त्यस्तै परे प्रयोगै गर्नबाट पनि यिनी पछि हट्दैनन् । वास्तवमा यिनी एक यहुदी हुन, बेन्जामिन लियन्जो नाम गरेका, तर आफू यहुदी भएको कुरा लुकाउन छद्म नाम प्रयोग गरेको उपन्यासमा चित्रित गरिएकोछ ।

उपन्यासको प्रारम्भमा यिनी स्तम्भित हुन्छन् दुई महिना अगाडी मृत आफ्ना बाबुको दुर्घटनामा मृत्यु भएको नभएर हत्या भएको हो भन्ने सुनेर । यो कुरा बताउंछन् बिल बाल्फोर, जसका पिताले आत्महत्या गरेको समाचार सम्प्रेषण भएको थियो । बिलले के बताउंछन् भने आफ्ना पिताले पनि अपहत्ये गरेको नभएर कसैले कर्तब्य गरेर मारेको हो र त्यसको भोलिपल्ट बेन्जामीनको पिताको पनि हत्या भएको हो । बेन्जामिनले त सुनेको थियो कि उनका पिता घोडाबग्गीले किचेर दुर्घटनामा मृत्यु भएको हो । बग्गी चालक हर्बट फेनलाई अदालतले कडा नसिहत सहित रिहा समेत गरिसकेको छ, मृत्यु भवितब्य मानेर ।

बिलको बाबु माइकल बाल्फोर धितोपत्र दलाली गर्थे जसको क्रममा बैंक अफ इंग्लाय्न्ड (बैंक) र साउथ सी कम्पनी (कम्पनी) को बीच बिद्यमान बैमनस्यताले सिर्जित बजारको अस्थिरताबाट फाइदा उठाउने काम गर्थे । कमाई धेरै नैं गरेका थिए । त्यतिबेला दलाली गर्नेहरु धितोपत्र को मूल्य घटबढका कारक बन्थे र यस्तो घटबढबाट फाइदा उठाउने पनि ब्यवसायको अंश बन्न थाल्यो । दलालहरुले बिभिन्न हल्ला हुची फैलाएर मूल्य घटबढ गराउने गर्थे र यस्ता हल्लाहरु प्रायोजित समेत हुन्थे । धन्दा दुई प्रकारकों हुन्थ्यो - हल्ला चलाएर भाउ बढायो, आफूसंग भएको धितोपत्र राम्रो नाफामा बेच्यो । अनि केहिपछि नकरात्मक हल्ला चलाई दियो जसको फलस्वरुप भाउ घट्छ घटेको मूल्यमा सकेजति किन्यो, जसको लगत्तै भाउ बढ्न थाल्छ र आफ्नो पूर्व स्थितिमा पुगिहालिन्छ । तर बिलको बाबुको मुत्यु उपरान्त निजको वित्तियरुपमा टाट उल्टेको देखा पर्नाले बिलले अनुमान छ कसैले सम्पत्ति पनि कुम्ल्यायो र आत्महत्या गरेको देखिने गरी हत्या पनि गर् यो ।

त्यतिखेरको बेलायतको धितोपत्र बजारको समानान्तर स्थिति हालको नेपालमा केही हद सम्म बिद्यमान छ भन्दा अत्युक्ति हुन्न । कतिपय धितोपत्रको मूल्य अस्वाभाविक रुपमा बढेबढाईएको हुन्छ - सम्बन्धित संस्थाको वित्तिय स्थितिले पुष्टि नगरेपनि । कतिपय दलालहरुले आफ्नै परिवारका सदस्य साथीभाईलाई ५/७ कित्ता नामसारी गरेर समेत निश्चित मूल्य कायम गराएको धेरै उदाहरणहरु पाइन्छ । वार्षिक साधारण सभाको संघारमा त सम्बन्धित संस्थाकै एक वा केही संचालकको अनुरोधमा दलालहरुले धितोपत्रको मूल्य निश्चित बिन्दुमा पुर् याईदिएको धेरै दृष्टान्त पाइन्छन् ।

त्यतिखेर बेलायतमा सरकारलाई ऋण सापटी दिने काममा बैंक अफ इंग्लाय्ण्डको एकाधिकार थियो र यस्तो एकाधिकार तोड्न चाहन्थ्यो साउथ सी कम्पनी, जुन कुरा स्वभावतः बैंकका संचालकहरुलाई स्वीकार्य थिएन । बैंकले आफ्नो एकाधिकार प्रयोग गरेर राज्यलाई प्रदत्त ऋणमा उच्च दरमा ब्याज असूल्ने भएकोले कम्पनीले ब्याज दर घटाएर राज्यलाई सघाउने प्रस्ताव गरेकोमा बैंकका संचालकहरुलाई यो कुरा पाच्य भएको हुन्न र कसरी कम्पनीलाई नैं बिस्थापित गर्ने भन्ने तानाबाना बैंकका संचालकहरुले बुन्न थालेको हुन्छन् । अर्कोतिर कम्पनीका संचालकहरुकै संलग्नतामा कम्पनीको जाली धितोपत्र बजारमा देखापर्छ र यो कुराको गोप्यता भंग गर्ने सक्ने सबै यी जालसाजहरुको तारो बन्छन् । त्यतिखेर ईष्ट इंडिया कम्पनी समेत बिद्यमान देखिन्छ तर बेलायतमा यसले त्यति कारोबार गरेको देखाईंदैन - सायद यसको कारोबार भारतमा मात्र सीमित भएकोले होला ।

उता बेन्जामीनको बाबु साय्मुयल लियन्जो बिदेशबाट सामान आयात गरेर बेलायतमा बिक्री गर्ने व्यवसायमा संलग्न थिए - शोषक प्रबत्तिका मजदूरहरुलाई एकदम कम मात्र ज्याला दिने । तर मजदूरहरुले पनि आफूले बोकेको बोरामा प्वाल पारेर भित्रको सामान चोरेर बिक्री गरेर आफुलाई कम परेको मजदूरी क्षतिपूर्ति गर्थे । यस्तोमा साय्मुयलले मजदूरहरुको काम रेखदेख गर्न एउटा सुपरिवेक्षक नियुक्त गर्नाले मजदूरहरु आक्रोशित भएका हुन्छन् । यिनै आक्रोशित मजदूर मध्ये कुनैले निजको हत्या गरेको हुनसक्ने भान पनि उपन्यासमा पारिएकोछ ।

बेन्जामीनको आफ्नो मुख्य व्यावसायिक प्रतिस्पर्धी थिए जोनाथान वाइल्ड जो चोर लुच्चा फटाहाहरुलाई आफैले काममा लगाउंथ्यो, संरक्षणमा राख्थ्यो र आफैले चोरीका सामान पत्ता लगाई दिएको भनेर पारितोषिक लिने मौका पनि चुकाउंदैनथ्यो । मौका परे चोरीको सामान बिक्री गरेर फाईदा उठाउन पनि पछि नपेर्ने । उसले कार्यालय नै खोलेको थियो "हराएको चोरिएका सामान फिर्ता गर्ने कार्यालय” को नामबाट । यिनको व्यवसायमा सघाउन केही बेश्याहरुलाई समेत नियुक्त गरेका हुन्छन् र यिनको व्यवसाय निकै सफल हुन्छ, एउटा संगठीत संस्थाको रुपमा संचालित हुनाले । यही संस्थालाई सुधार परिमार्जन गरेर बेलायतमा आधुनिक जनपद् प्रहरीको स्थापना गरिएको हो भन्ने लेखकले इंगित गर्न खोजेका छन् ।

त्यतिखेरका भद्रभलाद्मीले सामान्यतया बेश्यागमन गर्नेरुपमा चित्रित गरिन्छ । हाम्रै सूत्रधारले एक नवअभिनेत्रीसंग रासलीला रचाएर आएको हुन्छ तर नाम भन्न मिल्दैन भन्छ - कतै आत्मकथा नैं जस्तो भान पार्न । तर कुनै भद्रभलाद्मीको इज्जतमा कसैले धावा बोलेमा हाइडपार्कमा बोलाएर तरबारले छिनाफनो गर्ने पनि प्रचलनमा देखिन्छ ।

बेन्जामिनका एकजना चिकित्सक मित्र हुन्छन् - इलियास गर्डन । चिकित्सकको पेशामा कमाई सुनिश्चित नहुने र बहालमा बसेको ठाउंको बहाल समेत तिर्न नपुगेर डाक्टरले एक्ली, अलि पाकी घर मालिक्नीलाई समेत बहालको सट्टा "सेवा” पुर् याएर पूर्ति गर्ने गर्छन । चिकित्सा शास्त्र पनि राम्ररी विकसित भएको देखिन्न । यी डाक्टर जसलाई जे भएको भए पनि अलिकति रगत बग्न दिएपछि ठीक हुन्छ भनेर रोग निदान गर्छन् । यिनले आफ्नो कम आयको समस्या समाधन गर्न चिकित्सा पेशाको अलावा अन्य जे पनि गर्न तयार हुन्छन् । विषेशतः उपन्यासका सूत्रधारले यिनले मागेको बखत केही पैसा दिएर फिर्ता माग्न बिस्रने, भट्टीहरु लगेर मनग्गे रक्सी पिलाउने हुनाले यी चिकित्सक निज सूत्रधारले भनेको मान्ने र उसैलाई पछ्याउने गरेको देखिन्छ । यिनी जुनसुकै घटना पनि सम्भावनाको खेल मान्छन् र तद्अनुरुप विष्लेशन गर्न रुचाउंछन् । यस उपन्यासको मूख्य गुत्थी रहेको दुई हत्याहरु सम्बन्धमा पनि यिनले विष्लेशनात्मक तर्क गरेर अन्वेषश, अनुसन्धान, छानबिन गर्न धेरै मद्दत गर्छन जुन सिलसिलामा बेन्जामिनको साथ लागेर यिनी धेरै ठाउं जान्छन् र एक पटक त रामै्र चुटाई पनि भेट्छन् ।

भंसार कार्यालयका निरीक्षक कानूनको उल्लंघन भएको पत्ता लगाउन मेहनतका साथ आप्रबासीको गोदाम निरीक्षण गर्ने गर्छन । पत्ता लागेमा ठूलै भत्ता हस्तगत गरेर िहंडछन् । तर केही पत्ता नलागे पनि जो हात सो सात गर्छन् तर हात खाली पठाएमा कानूनको काल्पनिक उल्लंघन खडा गरेर अनावश्यक झंझट दिने गर्दा रहेछन् । कतिपय कर्मचारीहरु आफ्नो जिम्मामा रहेको जानकारी सूचना विक्री गरेर पनि आम्दानी गर्ने रहेछन् । यस परिपाटीको समानान्तर नेपालमा अहिले छ की छैन भन्ने कुरा पाठकलाई बिदितै छ ।

नेपालका एकथरी आदिबासीमा २०/२५ वर्ष अघि प्रचलन रहेको (अहिले छैन) परिपाटी अनुरुप बेलायतमा पनि त्यतिखेर जुनसुकै बखत घर आएका पाहुनालाई मद्यपानबाट स्वागत गर्ने चलन रहेको देखिन्छ । तर आश्चर्य चकित पार्ने कुरा के हुन्छ भने अदालत चलिरहेकै बखत पनि न्यायाधीशले घरीघरी मद्यपान (वाइन) गर्छन् । आफ्नो छेउमा भएको सिसिबाट ग्लासमा खन्याउंदै, घांटी भिजाउंदै गर्ने । न्यायाधीशहरु पनि कस्ता भने सामान्यतया न्यायिक मन प्रयोग गरेर फैसला गर्ने तर घूस पाईने अवस्थामा घूस प्रति पूर्ण इमान्दारीता बहन गर्ने । सामान्यतया जित्नेसंग मात्र घूस लिने र हरुवापक्षबाट लिईसकेको भएपनि रकम फिर्ता दिने इमान्दारीता दर्शाउने । नेपालमा अदालत परिसरमा अहिले मद्यपान कसैले गर्दैनन् । तर न्याय सम्पादन र लेनदेनको कुरा भने बिद्यमानै छ भन्ने धेरै पत्रपत्रिकामा पढ्न पाईन्छ ।

प्रस्तुत उपन्यासले चित्रण गरेको समयमा बेलायती मुद्रा सुवर्ण मानक (Gold standard) मा आधारित देखिन्छ । एक शििलंग चांदीको सिक्का हुन्थ्यो जुन एक पाउण्डको बीस खण्डको एक खण्ड रहन्थ्यो । एक्काइस शििलंगको एक गिन्नी मानिन्थ्यो र त्यो सुनको सिक्का हुन्थ्यो । यस्ता सिक्कालाई चारै तिरबाट घोटेर चांदी वा सुन निकाल्ने काम पनि मानिसहरु गर्ने गर्थे । कतिपय सिक्कामा एक चौथाई तौल सम्म नैं घटी सकेको हुन्थ्यो । यदी मुद्राको मूल्य सिक्कामा निहित चांदी वा सुनको तौलले हुने भएको भए कतिपय सिक्काको मूल्य कम हुनु पर्ने हो । तर पनि जनसाधारणले कम मूल्य आंक्ने गरेको देखिएन - सिक्कामा लेखेकोमा जनसाधरणले विश्वास गर्ने गरेको देखियो । नेपालमा अहिले कागजी मुद्रा पूर्णरुपमा प्रचलनमा रहेकोले सिक्का दुब्लाउने समस्या भने छैन । तर मुद्रास्फीतीको कारणले मात्र नभई परिवत्र्य मुद्राको तुलनामा पनि नेपाली मुद्रा आफै अवमूल्यन हुंदै गएको अवस्थामा नेपालीको सम्पत्तिको मूल्यमा ह्रास हुंदै गएको अवस्था छ ।

त्यतखेर बेलायतमा कागजी मुद्राको प्रादुर्भाव हुनु पूर्वको अन्यौल ब्यापक देखिन्छ । प्रारम्भमा बैंकले "बैंकनोट” जारी गरेर चांदी र सुनको सिक्का बोक्ने झंझट न्यूनिकरण गर्ने प्रयासबाट थालनी गर्छ । यी बैंकनोट अहिलेको विश्वब्यापी रुपमा प्रचलनमा रहेको कागजी नोट भन्दा फरक यस कारणले हुन्छ की ती बैंकनोटको भुक्तानी धारकले स्वयमेव नपाउने तर जसको नाममा जारी भएको हो तिनले मात्र मांगेको बखत पाउने हुन्छ - फलानोलाई भुक्तानी दिनु भनिएको अवस्थामा । तर यदी निज फलानोले तिलानोलाई दिएहुन्छ भनी लेखेर दस्तखत गरेको अवस्थामा तिलानोले पनि मागेको बखत भुक्तानी पाउन योग्य हुनजान्थ्यो । तिलानोले पनि धिस्कानोलाई दिनु भनि लेख्न मिल्ने । वस्तुतः यस प्रकृयाबाट सुन चांदीको सिक्काको रुपमा प्रचलनमा रहेको मुद्रालाई प्रतिस्थापन गर्ने क्रममा यस्तो मुद्रा आएको थियो र यो सुन चांदीद्वारा प्रत्याभूत मुद्रा नभएर कागजमा मुदि्रत "बाचा” मात्र थियो । जसलाई मुद्रा भनिहाल्न भने मिल्ने थिएन किनभने यो कागज हाल विश्वभर बिद्यमान काजगी मुद्राको कोरा पूर्वाभ्यास थियो । तर कागजी मुद्राका पक्षधरहरुले सिक्काको तौल कम भएपनि जनसाधारणले पूर्ववत मूल्य मानेकोलाई उदाहरण दिएर बैंकनोटमा निहित "बाचा” को मूल्य कायम रहने दलिल दिन्छन् । अहिले विश्वब्यापीरुपमा प्रचलनमा रहेको कागजी मुद्रा भने सम्बन्धित केदि्रय बैंकले जारी गरेको हुन्छ जसको भुक्तानीको लागि सम्बन्धित सरकारको जमानत रहने गर्छ र "बाचा” गरिएको हुन्छ तुरुन्त भुक्तानी पाइने ।

त्यति बेला एक थरी मानिसहरु संभावनाको खेल खेल्ने क्रममा बीमा व्यवसायको प्रारुपको शुरुवात नैं गर्छन । बीमा गराउनेले देख्ने जोखिमको संभावनालाई मूल्यांकन गरेर क्षतिपूर्तिको "बाचा” गरेर शुल्क उठाउंथे नव बीमा व्यवसायी भने यी व्यवसायी सबै बीमितको बीमा गरिएको सम्पत्ति एकैपटक जोखिममा पर्दैन भन्ने सम्भावनालाई जग बनाएका हुन्थे । यस शुरुवातको फलस्वरुप एउटा छुट्टै ब्यवसाय अहिले विश्वमा झांगिएको छ र राम्रै सेवा प्रदान गर्न सफल भएको छ । नेपालमा भने सामान्यतया बाध्य पारिएको अवस्थामा बाहेक बीमा गर्ने गरेको पाइन्न । जोखिम आकलन गरेर त्यसको न्यनीकरण गर्ने उद्देश्यले भन्दा ऋण दिने बैंक वा अन्य उनाउ पक्षको शर्त पालना स्वरुप बीमा गरेको पाइन्छ केही अपबाद बाहेक ।

उपन्यासका कतिपय पृष्ठहरुमा हाम्रा सूत्रधारको मूख्य काम बनेको हुन्छ आफ्ना पिता तथा अर्का ब्यक्तिको हत्या कसरी भयो किन भयो कसले गर् यो भन्ने कुराको गुत्थी सुल्झाउने । निजले जासूसी कार्य गर्ने क्रममा निकै रोमााचकारी क्षणहरुको सामना गर्छन् र अन्त्यमा पत्ता लगाई छोड्छन् । तर यो गुत्थीलाई यस पंक्तिकारले नसुल्झाईकनै छोड्न बाध्य छ लेखक डेभिड लिस प्रति अन्याय नगर्न । यस भन्दा बढी थाहा पाउन पाठकले उक्त पुस्तकै पढ्न पर्ने हुन्छ ।

पुस्तक समिक्षाहरु मात्र प्रकाशित हुने मन्थन नामक संकलनमा डेभिड लिसद्वारा लिखित Paper Conspiracy नामक पुस्तकको पुस्तक समिक्षा, जुन सन् २००७ मा प्रकाशित भएको थियो

1 comment:

Adams Kevin said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन