Tuesday, March 24, 2009

रुग्ण उद्योगहरु सम्बन्धमा खरो कुराहरु

२०५८ भाद्र ६

श्री सम्पादक
हिमाल खबरपत्रिका
पुल्चोक ललितपुर

डा. भोला चालिसेले रुग्ण उद्योगहरु सम्बन्धमा खरो कुराहरु अघि सार्नु भएको (हिमाल १-१५ भदौ २०५८) सराहनिय लाग्यो । तर यस सम्बन्धमा एक दुइ अरु खरा कुराहरु पनि बांकी देखेर कलम चलाउने काम गरेको छु ।

धेरैलाई थाहा होओइन कि एक तप्काका नेपाली उद्यमिहरुको व्यवसाय नैं "रुग्ण उद्योग” हो । यस्ता "उद्यमिले” उद्योग स्थापना गरेर त्यसको सुसंचालनको परिणति स्वरुप राम्रो प्रतिफलको अपेक्षा राख्दैनन् । बरु उद्योग स्थापनाको क्रमसंगै आफ्नो "भाग” बिभिन्न तरीकाले स्थापना/निर्माणकालमा नै निकाल्दछन् । जसको फलस्वरुप संचालनमा आएको पहिलो दिन देखि नैं यस्तो उद्योग अधिक पंूजिकृत (over capitalized) हुन पुग्छन् र रुग्ण हुनु यस्ता उद्योगको निश्चित नियति नै बन्दछ । यस प्रकृयाकै फलस्वरुप यस्ता उद्योगहरु आफू मात्र उंधो लाग्दैनन् यस्ता उद्योगमा जानाजान बैंकका अधिकृतहरुको मिलोमतोमा वा नजानी, बैंकका अधिकृतहरुको नालायकीले लगानी गर्ने बंैकहरु पनि राम्ररी थला पर्छन् ।

तर आफूले भने जति मूल्य निर्धारण गर्न र खरिदकर्तालाई यस्तो मूल्य तिर्न बाध्य पार्न सक्ने उद्यमी भने अधिक पंूजिकृत भएतापनि रुग्ण बन्न पर्ने नियतिबाट बच्न सक्छन् । यसको ज्वलंत उदाहरण हो भोटेकोशी आयोजना । टर्नकी (Turn-Key) आधारमा ४.८ करोड डलरमा ठेकेदारले आयोजना निर्माण सम्पन्न गर्दा पनि ६.८ करोड डलर लाग्ने अनुमान भएकोमा आयोजनाको कूल लागत ९.८ करोड डलर कायम गरेको छ र यस्तो गरिएतापनि यो उद्योग रुग्ण हुने अवस्थामा पटक्कै छैन । चाख लाग्दो कुरा त के छ भने यो आयोजनामा बहुराष्ट्रिय बैंकहरुले लगानी गरेको छ, यिनका अधिकृतहरुले अधिक पंूजीकरण बारे जानाजान लगानी गरे कि अन्जानमा अनुमान अथवा शोध को विषय हो ।

यसै तप्कामा अलि फरक खाले हुन्छन्, उद्योगको इजाजतपत्र प्राप्त गरेर बिक्री गर्न खल्तीमा बोकेर िहंड्नेहरु जुन बिक्री मूल्यले पनि उद्योगलाई स्वतः रुग्ण पार्दछ । यस खाले "रुग्ण उद्योग” व्यवसायीहरुले जलबिद्युत क्षेत्रमा पनि हात हालिसकेको देखा परेको छ । धेरै आयोजनाहरुको लागि सर्बेक्षण तथा उत्पादन गर्ने इजाजतपत्र जारी भई सकेकोछ, कतिपयले नेपाल बिद्युत प्राधिकरणसंग बिद्युत खरिद सम्झौतामा हस्ताक्षर पनि गरिसकेका छन् तर पिलुवा आयोजना एउटा बाहेक अन्य कुनै पनि आयोजनाले निर्माण प्रारम्भ गर्ने उपक्रम समेत गरेका छैनन् । हालै मात्र संभाव्यता अध्ययन सम्पन्न गरेका वा हालै मात्र बिद्युत खरिद सम्झौतामा सही गर्नेलाई अहिले तत्कालै यो समूहमा राख्नु भने अन्यायपूर्ण हुनेछ ।

अर्का खाले रुग्ण उद्योग छन् नक्कल गर्ने होडबाजीमा शुरु गरिएका । यो समूहमा नयां खुलेका होटलहरु, पश्मिना उद्योग जस्ता पर्छन् । यो समूहमा पनि उद्योग संचालन पश्चात हुने नाफाको प्रतिक्षा गर्ने धैर्य नभएका उद्यमी हुन्छन् भने निम्न गुणस्तरिय उत्पादन बढी मूल्ममा बिक्री गर्ने आकांक्षा राख्ने (जस्तै पश्मिना) उद्यमी नहुने पनि होइन । यस कलमचीलाई आश्चर्य लागेको कुरा चािहं के छ भने बहुराष्ट्रिय बैंकहरुले पनि पर्यटकीय होटलका कोठाहरु अधिक आपूर्ति भई रहेको नेपालको अवस्थामा पनि नयां ठूला होटलहरुमा लगानी गरेका छन् । यी बैंकहरुले पनि यस्ता उद्योगमा मिलोमतो गरेर वा नालायकीबस ऋण प्रबाह गर् यो खुल्दुलीकै कुरा छ । तर पराकाष्ठा तब नाघ्दछ जब जोमसोम जस्तो स्वच्छ पर्यावरण रहेको र निरन्तर स्वच्छ पर्यावरण राख्नु पर्ने ठाउंमा धुंवाको मुस्लो ओकल्ने, डिजेल र मट्टितेलले संचालन हुने जेनरेटर प्रयोग गरेर कोठाहरु र पौडी पोखरी न्यानो पारिन्छ । अनि बिडम्बनाः यो होटल पर्यावरण मैत्रीपूर्ण छ भन्दै विश्व बैंकको आई.एफ.सी.ले लगानी गदर्छ ।

पुछारमा सम्झन जरुरी एउटा कुरा के पनि छ भने यस्ता रुग्ण उद्योगहरुमा "स्वामित्व” हुनेहरुलाई आफ्ना उद्योगहरु रुग्ण भएर खासै फरक पनि पर्दैन । कम्पनी ऐनको सीमित दायित्वको कवचले प्रदान गरेको सुरक्षाका घेरा भित्र यी उद्यमीहरु बस्दछन् र यिनका ऐसोआराम एवम् बिलासिताका सरसामान तथा सम्पत्तिमा कुनै प्रभाव पर्दैन, उद्योग रुग्ण हुंदैमा । प्रभाव पर्छ त यस्ता उद्योगहरुमा लगानी गर्ने बैंकहरुलाई, यसरी ठगिने बैंकहरुमा लगानी गर्ने तथा आफनो पैसा यी बैंकहरुमा निक्षेपमा राख्नेलाई । अन्तमा डा. चालिसेले उल्लेख गरे झैं रुग्ण उद्योगहरुलाई ब्याजमा सहुलियत दिने कार्यक्रम नयां बजेटमा राखिएर पनि यिनैं बैंकहरुलाई थप नोक्सान ब्यहोर्न लगाउने तामझाम तैयार भई सकेको छ । यस कृयाकलापले अहिले नै रुग्ण दुई बैंकहरु थप रुग्ण हुन्छन् वा निजी क्षेत्रका बैंकहरु पनि त्यहि बाटो तताउन थाल्दछन् ।

भवदीय


रत्न संसार श्रेष्ठ

उपरोक्त बमोजिम प्रेषित पत्रको केहि खण्ड मात्र २०५८ आश्विनमा प्रकाशित भएको छ

No comments: