Tuesday, March 17, 2009

हरितगृह वायू र वातावरणिय न्याय

असार १५ मा दही च्युरा खाने प्रचलन नेपाली मात्रको सांस्कृतिक परम्परा हो । यसलाई हिले चाड पनि मानिन्छ किनभने यो दिनमा हिलोमा खेलिन्छ । यथार्थमा हिलोमा त्यत्तिकै खेलिने नभएर रोपाईंको क्रममा खेलिने हो । यस दिनमा धान रोप्नु हिलोमा खेल्नु दही च्युरा खानु आदि कार्यलाई सहकाल बोलाउनेको प्रतिकात्मक रुपमा लिइन्छ । यस क्रममा दोहरी आदि गीत पनि गाईन्छ । तर यी सबै पूर्व शर्त हो त्यस दिनमा पानी पर्नु बिना वर्षात न रोपाईं हुन्छ न हिलो नंै । हिलोमा नखेलिकन दुई चार गीत नगाईकन खाएको दही च्युरा त्यत्तिको स्वादिष्ट पनि हुन्न !

जलवायू परिवर्तन
यो वर्ष असार पन्ध्रमा त के साउन पन्ध्र सम्म पनि राम्ररी पानी परेको थिएन । प्रस्तुत लेख लेख्न बस्दा साउन २२ गते बल्ल अलि राम्रो पानी पर्दैथियो । पूर्वी नेपालमा जेठको तेश्रो साता देखि पानी पर्न शुरु भएर मन्सूनले नेपाल प्रबेश गर्न पर्नेमा यो वर्ष ढिलो गरेर मात्र पानी पर् यो र यसले गर्दा कृषि उत्पादनमा ठूलै रुपमा प्रतिकूल प्रभाव पर्ने प्रबल आशंका छ । यसरी सामान्यतया पानी पर्न पर्ने बेलामा पानी नपर्ने नपर्नु पर्ने बेलामा पर्ने भनेको मौसम जलवायू परिवर्तनको लक्षण हो । यस्तो हुनुमा हरितगृह प्रभावको भूमिका रहेको मानिन्छ ।

पृथ्वीको अकाशिदो तापक्रम
मानिसको जीवनशैलीमा धेरै उर्जा खपत हुन्छ र अधिकांश उर्जाश्रोतहरुले खपत हुने क्रममा कार्बनडाई अक्साइड नाइट्रोजन अक्साइड मिथेन जस्ता प्रदूषक वायूहरु उत्पादन गर्छ जसले पृथ्वीमा हरितगृह प्रभाव पार्छ र पृथ्वीको तापक्रममा बृद्धि हुनजान्छ । यो कसरी हुन्छ भने पृथ्वीको वायुमण्डलमा बिभिन्न वायूहरु सन्तुलित रुपमा रहेको हुन्छ । तर हरितगृह वायूहरुको परिमाणात्मकरुपमा बृद्धि भएपछि यी वायूहरु सापेक्षरुपमा अधिक भारको हुने हुनाले वायूमण्डलमा धेरै माथि नगएर तलै बस्छ र सूर्यको प्रकाशबाट बृद्धिहुने तापक्रम सूर्य अस्ताएपछि घट्नुपर्नेमा ताप उम्किन नसक्नाले पृथ्वीको तापक्रम सापेक्षरुपमा घट्दैन । यसलाई नैं हरितगृह प्रभाव भनिन्छ । यही कुरा किसानले बनाउने हरितगृहमा पनि देख्न सकिन्छ जहां सूर्य अस्ताई सकेपछि पनि तामक्रम सापेक्षरुपमा घट्दैन जति खुला ठाउंमा घट्दछ ।

पग्लदो हिमाल
हरितगृह प्रभावले गर्दा पृथ्वीको तामक्रम बढेको अवस्थामा नेपालमा अवस्थित हिमालको हिउं द्रुत गतिले पग्लन्छ । हिमतालहरु पनि पग्लने क्रममा यिनको आयतन घट्न थाल्छ । यसको नतिजा भयावह पनि हुनसक्छ किनभने बिदेशी पर्यटक नेपालको हिमाली श्रृंखलाबाट आकर्षित भएर नेपाल भ्रमणमा आउनेमा हिम श्रृंखला नैं गायब भएको अवस्थामा पर्यटक आगमनमा ठूलै कमी आउन सक्छ । यसको परिणति नेपालको लागि दुर्भाग्यपूर्ण हुन्छ नैं अर्थतन्त्र तहस नहस हुन सक्ने हुनाले । नेपाल भ्रमणमा आउने पर्यटकको कारणले सिर्जित रोजगारी पनि यस्तो अवस्था ह्रास हुन जान्छ । यस अतिरिक्त दु्रतगतिमा हिम श्रृंखलाको हिउं पग्लेको अवस्थामा बाढी पहिरो आएर पनि धेरै बिनास गर्ने सम्भावना हुन्छ नै ।

बढ्दो समुद्री सतह
पृथ्वीको तापक्रम बढ्नाले हिम श्रृंखलाबाट हिउं दु्रत गतिले पग्लने आदि कारणले समुद्री सतहमा भारी बृद्धि हुन्छ । नेपाल एउटा भूपरिबेष्ठित मुलुक हुनाले समुद्री सतहमा बृद्धि भएर कुनै प्रत्यक्ष प्रभाव पर्ने अवस्था त छैन । तर दङ्ग भने पर्न मिल्दैन किनभने छिमेकी मुलुक जस्तै बाङ्गलादेशमा समुद्री सतह बढेको अवस्थामा त्यहांका बासिन्दा त्यस कुराबाट बच्न अग्लो भूभागमा भाग्ने क्रममा आउने ठाउं नेपाल नैं हो । यो कुरा सानो रुपमा सन् १९७१ मा देखियो जति बेला तत्कालिन पूर्वि पाकिस्तानमा चलेको युद्धबाट बच्न धेरै बाङ्गलादेशी नेपालमा आश्रयको खोजीमा आइपुगे र ती मध्ये धेरै अहिले सम्म पनि फर्केका छैनन् । ठूलो संख्यामा दक्षिणबाट उत्तर तिर आप्रवासनमा बृद्धि भएको अवस्थामा नेपाली अर्थतन्त्रले थेग्न सक्दैन र गरीब नेपाली झन गरीब हुंदै जाने छन् ।

हरितगृह वायूको स्थानिय प्रत्यक्ष प्रभाव
यहां स्मरणिय के छ भने हरितगृह वायूले पृथ्वीको तापक्रम बढाउनाको अलावा यी स्थानिय स्तरमा बिभिन्न रोगब्याधीको पनि कारकतत्व हुन्छ । यस्ता वायूबाट श्वासप्रश्वासको समस्या देखि अबूर्द रोग ९अबलअभच० सम्म लाग्दछ जसले गर्दा अनावश्यक औषधोपचार खर्चमा बृद्धि हुने मात्र नभई काममा अनुपस्थित रहने र कार्य क्षमतामा ह्रास हुने कारणले उत्पादकत्वमा ह्रास हुने सम्मको परिणाम देखा पर्छ ।

कार्बन ब्यापार
अत्यधिक हरितगृह वायूको कारण पृथ्वीको तापक्रममा हुने अभिबृद्धिको न्यूनिकरण लगायत निवारण समेतको लागि कार्बनको ब्यापार ९अबचदयल तचबमष्लन० को अवधारणाको पनि विकाश भएको छ । जस अन्तर्गत हरेक नयां काम गर्दा हरितगृह वायू निसर्जन हुने प्रकृतिको सट्टा निसर्जन नैं नगर्ने वा सापेक्षरुपमा कम निसर्जन गर्ने प्रकृतिको कामलाई प्रोत्साहित गरिन्छ । उदाहरणतः कोइला लगायतका खनिज इन्धनको प्रयोग गरेर उर्जा उत्पादन गर्दा कार्बनडाई अक्साइड नाइट्रोजन अक्साइड मिथेन जस्ता हरितगृह वायू निसर्जन हुन्छ भने जलबिद्युत आयोजनाबाट उर्जा बिजुली उत्पादन गर्दा हरितगृह वायू निसर्जन हुन्न । यस प्रकार विकाशोन्मुख मुलुकमा हरितगृह वायू उत्पादन नगर्नेलाई प्रति टनको अमेरिकि डलर ३ देखि ७ सम्म दिने संरचनाको विकाश क्योटो प्रोटोकल अन्तर्गत भएको छ ।

प्रश्न उठ्न सक्छ पैसा कसले किन दिन्छ त माथि उल्लिखित प्रोटोकलमा निहित सहमति अनुसार विकशित मुलुकहरुले निश्चित परिमाण भन्दा बढी हरितगृह वायू निसृत गर्न सक्दैनन् । सामान्यतया आर्थिक विकाश दरमा अभिबृद्धि गर्ने कुनै पनि कार्य थप उर्जा बिना सम्भव हुन्न र नविकरणिय तथा स्वच्छ उर्जाको प्रयोग गरे देखि बाहेक थप उर्जा गर्दा थप हरितगृह वायू निसृत हुन्छ जसमा प्रोटोकलले हदबन्दी लगाई सकेकेा छ । यस्तो हदबन्दी भित्र बसेर आफ्नो मुलुकमा थप आर्थिक कृयाकलाप गर्न विकसित मुलुकहरुले विकासोन्मुख मुलुकमा हरितगृह वायू उत्पादन नगरेको परिमाणमा आफूले हरितगृह वायू उत्पादन गर्ने छूट पाउंछ यदि निसृत नभए कुराको प्रमाण विकसित मुलुकले विकासोन्मुख मुलुकबाट किन्ने हो भने । यसरी हरितगृह वायू उत्पादन नगरेबापतको प्रमाण खरिद गर्ने कार्यलाईनैं कार्बन ब्यापार मानिन्छ ।

चक्रपथमा ट्रलीबस
कार्बन ब्यापारको उदाहरण दिन पर्दा काठमाडौं उपत्यकामा बिद्यमान चक्रपथमा धुंवा ओकल्ने बसहरु चलेकोमा शुरु गर्दा ५० वटा ट्रलीबस र हरेक ५ वर्षको अन्तरालमा २५ वटाको दरले थपेर १२५ पुर् याएमा २० वर्षको अवधिमा झण्डै १ लाख ३० हजार टन हरितगृह वायू निसर्जन नहुने देखिन्छ । यसरी निसृत नहुने हरितगृत वायूले पृथ्वीको तापक्रम बृद्धि नगर्न योगदान गर्दछ । यस पंक्तिकारले गरेको उक्त अनुसन्धानात्मक अध्ययनमा १ लिटर डिजेल प्रयोग गर्दा २।६८ किलो कार्बनडाईअक्साइड ०।०३२ किलो नाइट्रोजनअक्साइड र ०।००४ किलो मिथेन निसृत हुने आधार प्रयोग गरिएको थियो । यी दरहरु सं।रा।सं।sाे जलवायू सम्बन्धी संयन्त्रले इन्टरनेटमा प्रकाशित अनुरुप छ । यसरी चक्रपथमा ट्रली बस प्रयोग गर्दा हरित गृह वायू निसर्जनमा आउने कमीलाई कार्बन ब्यापारको अवकारणा अन्तर्गत बिक्री गरिएमा चक्र पथमा ट्रली बस व्यबसायले जनतालाई परिवहन सेवा पुर् याएर आम्दानी गर्नाको अलावा हरित गृह वायू निसर्जन नगरे बापतको प्रमाण बिक्री गरेर पनि आम्दानी गर्ने देखिन्छ ।

वातावरणिय न्याय
विश्वमा जति हरितगृह वायू निसृत हुन्छ त्यसको एक चौथाई संयुक्त राज्य अमेरिका एउटै देशले निसृत गरेको छ र नेपाल जस्तो विकाशोन्मुख मुलुकले निसृत गर्ने हरितगृह वायूको परिमाण नगन्य पनि छैन । तर जसले जति निसृत गरेपनि नगरेपनि पृथ्वीमा पर्ने प्रतिकूल प्रभावबाट प्रभावित भने सबै समान रुपमा हुन्छन् । यो कुरा न्यायपूर्ण मान्न सकिने अवस्था छैन । त्यस माथि पनि नेपालमा जलश्रोत प्रचूर मात्रामा भएको तर हरितगृह वायू निसृत हुने कोइला लगायतका खनिज इन्धन बिद्यामान नभएको परिप्रेक्ष्यमा वातावरणिय दृष्टिकोणले नेपाल जस्तो मुलुक दोहरो ठगिने अवस्था छ । यस पृष्ठभूमिमा कार्बन ब्यापारको अवधारणाले केही हद सम्म वातावरणिय दृष्टिकोणले न्याय पुग्न सक्ने देखिन्छ ।

निष्कर्श
स्वच्छ तथा नविकरणिय उर्जा श्रोतको प्रयोग नगरी अत्यधिक रुपमा पर्यावरणमा हरितगृह वायू निसर्जन हुने गरी खनिज लगायतका उर्जा श्रोत प्रयोग गर्दा वातावरणमा धेरै नैं नकरात्मक प्रभाव पर्दछ । यसबाट जनसाधारणलाई वातावरिणय हिसाबले अन्याय परिराखेको हुन्छ । आफ्नै प्रयासमा हरितगृह वायू निसर्जन नगर्ने अग्रसरता लिनु वान्छनिय छ । तर पृथ्वीको बढ्दो तापक्रमबाट आत्तिएर विश्वको अधिकांश मुलुकहरु क्योटोमा जुन सहमतिमा पुगिएको छ त्यसलाई सकारात्मक रुपमा लिएमा नेपाल जस्तो विकासोन्मुख मुलुकलाई थप लाभ हुने देखिन्छ ।

दान स्वरुप पाईने बैदेशिक सहायतामा धेरै शर्त बन्देजहरु थपिएर आएका हुन्छन् जसलाई पालना गर्दा कतिपय अवस्थामा मुलुकलाई लाभ भन्दा हानी धेरै भएका उदाहरणहरु यथेष्ट छन् । यस बिपरित नेपालमा विकाशको काम हरितगृह वायू निसर्जन नहुने किसिमले गरेमा नेपालमा विकाश मात्र नभएर हरितगृह वायू निसर्जन नगरेबापत सोको प्रमाण बिक्री गरेर आउने रकममा कुनै शर्त बन्देज नहुने हुनाले सापेक्ष रुपमा बढी लाभादायक हुने देखिन्छ ।

Published in the bulletin of Forum for Justice in August 2005

No comments: