तपाईहरुलाई भेट्ने र आफ्नो मनको कुरा राख्ने मौका जुराईदिनु भएकोमा आयोजकलाई अन्तरहृदय देखि धन्यबाद ज्ञापन गर्न चाहन्छु । म धेरै धेरै आभारी छु ।
प्रवासी र गैर आवासीय नेपाली
एक थरी मानिसहरु आफूलाई गैर आवासीय नेपाली कहलिन रुचाउंछन् र प्रवासी नेपाली भनाउन रुचाउंदैनन् । यस्तो व्यवहार गर्छन् कि प्रवासी भनेको तल्लो जात हो र गैर आवासीय उपल्लो जात । हुन पनि गैर आवासीय नेपालीले नेपालबाट प्राप्त गर्न खोजेको सुविधामा पनि प्रवासी नेपाली र गैर आवासीय नेपाली बीच बिभेद गर्ने प्रयास गरिराखेका छन् । उनीहरुको सबभन्दा सम्बेदनशील माँग छ, दोहरो नागरिकताको र यसमा दक्षिण एशियामा बसोबास गर्नेलाई बाहेक आफूलाई मात्र दोहरो नागरिकताको माँग गरेकाछन् ।
तर कटु यथार्थ के हो भने अधिकांश दोहरो नागरिकताको आवश्कता पर्ने तथाकथित गैर आवासीय नेपालीले आफ्नो मातृभूमिको लागि कुनै योगदान गर्दैनन् । जुन देशको नागरिकता लिएका छन् त्यहिं धन सम्पत्ति जम्मा मात्रै गर्दैनन्, बरु नेपालमा रहेको चलअचल सम्पत्ति समेत उतै लैजान्छन्, लगिरहेकाछन् । नेपालका अभिजात्य, कूलिन र सम्भ्रान्तवर्गले झण्डै डेढ सय वर्ष देखि नेपालको सम्पत्ति बिदेश लगिराखेकाछन् । जसको शुरुवात निरंकूश राणा शासकहरुले गरेकाहुन्, नेपाल राज्यको सम्पत्ति नैं आफ्नै बपौती झैं गरेर ।
अहिले नेपाल भित्रिरहेको ६ सय अर्ब रुपैया भन्दा बढीको विप्रेशण नेपाल पठाउने भनेको प्रवासी नेपाली र नेपालको नागरिकता नत्यागेका गैर आवासीय नेपालीले मात्र हो । दोहरो नागरिकता आवश्यक पर्ने तथाकथित गैर आवासीय नेपालीहरुले विपे्रशण नेपाल बिरलै मात्र पठाउंछन् ।
यसरी विप्रेशण पठाएर मातृभूमिको अर्थतन्त्रको भरथेग गर्ने गैर आवासीय नेपाली र अधिकांश प्रवासी नेपालीलाई दोहरो नागरिकता आवश्यक छैन । किनभने यो तप्काले न आफ्नो मातृभूमि परित्याग गरेकाछन् न त मातृभूमिको नागरिकता नैं । बिदेशमा बसेर मातृभूमिको सेवा गर्ने यो तप्काले आफ्नो आर्जन कमाइ आफ्नो मातृभूमि पठाउंछन् र देशको अर्थतन्त्र सुदृढ पार्छन । वास्तवमा अहिले दोहरो नागरिकता आवश्यक नपर्ने र नचाहनेले नैं देशको अर्थतन्त्र धानेका छन् ।
प्रवासी नेपालीहरुको समस्याहरु
प्रवासी नेपालीहरुको अनगिन्ति समस्या छन्, जुन सम्बन्धमा मैले यहां चर्चा गर्न सम्भव छैन । पहिलो कारण यस सम्बन्धमा मलाई पूर्ण ज्ञान नैं छैन, किनभने दुखः भोग्नेलाई मात्र आफ्नो दुखको ज्ञान हुन्छ । सुनेको भरमा दुख बोध गर्न सकिन्न । दोश्रो कारण मैले सुनीजानेको थोरै कुरा पनि समयाभावको कारणले अहिले वर्णन गर्न सम्भव छैन । यस सम्बन्धमा म भन्दा बढी तपाईहरु नैं जानकार हुनुहुन्छ ।
तर पनि तपाइहरुको मूल समस्यालाई जग बनाएर जलश्रोत सम्बन्धमा आफ्नो मनको कुरा तपाईहरु समक्ष राख्ने अनुमति चाहन्छु ।
मैले बुझे सम्म मातृभूमिबाट पलायन हुनुपर्ने बाध्यता मातृभूमिमा आत्मसन्मानपूर्वक जीवन यापन गर्नको लागि आर्थिक÷वित्तिय व्यवस्था गर्न आवश्यक बृत्ति, रोजगारी, इलमको व्यवस्था नभएर नैं हो । तपाईहरु यहां जेजति संघर्ष गरिराख्नु भएको छ त्यति संघर्ष मातृभूमिमा पनि गर्न तयार हुनुहुन्छ । अझ भन्ने हो भने तपाईहरुले मातृभूमिबाट पलायन भएर मुग्लानमा सेवा गरिराख्नु भएकोछ र यत्ति नैं सेवा मातृभूमिको गर्ने तपाईहरुको उत्कट आकांक्षा रहेको बुझ्न गाह्रो छैन । तपाईहरुले पनि होस्तेमा हैंसे गर्ने हो भने हाम्रो देशको कायाकल्प हुनसक्छ । तर परिस्थिति अनुकूल छैन, न तपाईहरुलाई न म जस्तोलाई ।
नेपाल आमाको सन्ततीले मातृभूमिको सेवा गर्ने परिस्थिति बनाउने दायित्व भएका राजनीतिकर्मी, कर्मचारीतन्त्र जस्ता नीति र्मिाताहरु, उद्योगव्यापार गर्नेहरुको ध्यान यस तर्फ छैन । अझ अहिले त बैदेशिक रोजगारीको नाममा मानव तस्करीले घृणित तथा डरलाग्दो व्यवसायको रुप लिएको छ, केहि अपवाद वाहेक । बिदेशमा नेपाली युवायुवतिको बेच बिखन भईराखेकोछ । श्रम र आर्थिक शोषण मात्र होइन बलात्कार लगायतका शारिरिक शोषण भई राखेकोछ, नेपाली चेलीहरु अनिच्छित गर्भधारण गर्न बाध्य छन् र बिना बाबुको बच्चा बोकेर नेपाल फर्कने अवस्था भएको छ । तर नीति निर्माताहरु आफै खाउं, आफै लगाउं र सात पुस्तालाई पुग्ने गरेर अकूत धन सम्पत्ति जायज नाजायज तरीकाबाट जम्मा गर्नमा नैं व्यस्त छन् ।
नेपाल र नेपालीको समृद्धिको लागि नेपालको जलश्रोत
धेरैले नेपाललाई प्रकृतिले ठगेको भन्ने गरेकाछन्, जुन कदापि साँचो होइन । नेपालमा कोइला, पेट्रोलियम पदार्थ, बहुमूल्य धातु लगायतका खनिज पदार्थ नभएको साँचो हो । तर नेपाल आमाले हाम्रो मुलुकलाई विश्वमैं सम्पन्न बनाएकी छिन, जलश्रोतको अपार सम्भावना दिएर । स्वच्छ पानी जुन विश्वमैं दुर्लभ छ र अभाव हुंदैछ । यसैको लागि युद्धहरु भईराखेकाछन् र हुनेवाला छ । तर नेपालमा मनग्गे स्वच्छ पानी छ । तर कुशल व्यवस्थापनको अभावमा सम्भावना खेर गईराखेको छ । न धारामा पानी आउंछ र पानीबाट उत्पादन हुने बिजुली आवश्यकता अनुसार उपलब्ध छ । रोजगारीको अभाव नैं बिजुलीको अभाव हो, जुन कारणले औद्योगिकरण हुनसकेको छैन र रोजगारी सृजना भएको छैन ।
नेपालका नीति निर्माताहरुको लम्पसारवादी चरित्रले गर्दा प्रकृतिले दिएको जलश्रोतमा पनि नेपाल पटक पटक ठगिंदै आएकोछ, कोशी, गण्डकी, टनकपुर, महाकाली आदिको द्विराष्ट्रिय सन्धीहरुमा । अहिले निजी क्षेत्रको लगानि आकृष्ट गर्ने नाममा नेपाल ठगिने क्रमले निरन्तरता पाएकोछ, जसको ज्वलन्त उदाहरण भएकोछ कर्णाली नदीको माथिल्लो कर्णाली नामको आयोजना स्थल । यो एउटा आयोजना स्थलमा ९ सय मेगावाटको नदी प्रवाहि आयोजना निर्माण गर्ने नाममा पूरै कर्णाली नदी पनि भारतलाई समर्पण गर्ने षडयन्त्र हुंदैछ ।
तर समयाभावको कारणले म यस तर्फ लाग्नु भन्दा के कसरी नेपालको जलश्रोत दोहन गरेर प्रवासी नेपालीको समस्या समाधान गर्न सकिन्छ भन्ने बिबेचना गर्न चाहन्छु । वास्तवमा बुद्धि पु¥याएर नेपालको जलश्रोत नेपालको हितमा दोहन गरिएमा प्रवासी नेपालीको मात्र समस्या समाधन नभएर नेपालमा बसेर संघर्षरत सबैको कल्याण हुन्छ र हाम्रो देश नेपालको पनि कायाकल्प हुन्छ ।
कृषि प्रधान देशमा खेती किसानी
मानिसहरु नेपाललाई पानीमा धनी ठान्छन्, जुन सत्य होइन । नेपाल वर्षात ४ महिना बाढीमा धनी छ भने बांकी ८ महिना खडेरीमा धनी । त्यसैले अधिकांश किसानले एक वाली आकाशे खेती गर्छन । बांकी समय केहि किसान खेती गरे झैं गर्छन् र अधिकांश किसान मुग्लान पस्छन् केहि कमाई भै हाल्छ कि भनेर । नेपालमा बुद्धि पु¥याएर वर्षातको पानी भण्डारण/सञ्चय गर्ने गरी जलाशययुक्त जलबिद्युत आयोजना निर्माण गरिएमा सुख्खायाममा पनि मनग्गे सिंचाई गरेर सघन खेती गर्न सकिन्छ ।
भारतको कूल खेतीयोग्य भूमिको १ दशमलव ५ प्रतिशत जमिन मात्र पंजाब प्रान्तमा छ, तर सम्पूर्ण भारतको धान र गहुंको ४० प्रतिशत आवश्यकता पूर्ति गर्छ एउटै पंजाब प्रान्तले, जहां सिंचाइको लागि भूमिगत पानीमा निर्भर छन् र भूमिगत पानीको सतह डरलाग्दो किसिमले घट्दैछ । तैपनि पंजाबी किसानहरु सम्पन्न र समृद्ध छन् र नेपालीहरु पंजाबमा गएर कृषि मजदूर भएर काम गर्छन ।
जलश्रोतको समुचित दोहन गरेर नेपालमा सघन खेतीबाट कमसेकम तीन बाली अझ ४ बाली उब्जाउन सकिन्छ जसबाट बेरोजगारीको समस्या उन्मूलन हुन्छ र किसानहरु पनि सम्पन्न र समृद्ध बन्नेछन् । साथै नगदे बाली पनि लगाउन सकिन्छ । यसबाट जनता र देश संगसंगै धनी हुनेछन् । महत्वपूर्ण कुरा के हो भने सघन खेती गर्दा नेपालले खाद्य सुरक्षा पनि हासिल गर्दछ । जसले गर्दा हाम्रो मातृभूमिलाई, जहां अहिले भोकमरी र अनिकालले मानिसहरु मृत्युवरण गर्न बाध्य छन्, त्यहा खान नपाएर मर्ने कुरा दन्त्य कथा बन्नेछ ।
साथै ४ महिना वर्षातमा जनधन क्षति हुने गरेर उर्लेर आउने बाढी इतिहांसको पन्नामा सीमित हुन्छ भने बाह्रैमास नदीहरुमा एकनास पानी बग्नाले जलाधार क्षेत्रमा हरियाली व्याप्त भएर पशुपालनमा पनि अभिबृद्धि हुन्छ । यहि साताबाट दशैं शुरु हुंदैछ, तर मासुको लागि अहिले भारतबाट खसी बाख्रा र चीनबाट भेंडा च्यांग्रा आयात गर्नुपर्ने बाध्यता छ । यस्तै अहिले भारतको आन्ध्रप्रदेशबाट आयातित माछामा निर्भर छौं भने जलाशययुक्त आयोजना निर्माण गरिंदा पशुपालन र मत्स्यपालनमा बृद्धि भएर पनि किसान सम्पन्न र समृद्धि हुनसक्छन् र नेपाली जनताले सुपथ मूल्यमा पोषक खाना खान पाउंछन् । बिदेशमा पसिना बगाएर दोश्रो दर्जाको नागरिक सरहको व्यवहार भोग्नुभन्दा पशुपालन तथा मत्स्यपालन व्यवसायमा लागेर वा यस क्षेत्रमा रोजगारी प्राप्त गरेर नेपालमा सम्पन्न र समृद्ध जीवन यापन गर्नु धेरै उत्तम हुन्छ ।
द्रुत गतिमा औद्योगिकरण
नेपालमा अहिले बिद्यमान उद्योगहरु, उद्योगपतिहरुलाई नैं घाँडो भएकोछ, लोडसेडिंगले गर्दा । थप औद्योगिकरण गर्ने कुरा त राजनीतिकर्मीहरुलाई चुनाव अगाडी भोट माग्ने तरीका मात्र भएकोछ । पूंजीपतिहरु नेपालमा नयाँ उद्योग खोल्ने कुराप्रति उदासिन छन् । बरु नेपालबाट गैर कानूनी तरीकाबाट पूंजी बिदेश पु¥याएर बिदेशमा लगानि गरेर चर्चा कमाएकाछन्, बैदेशिक पत्रपत्रिकामा फोटो छपाएका छन् । जलश्रोतको अधिकतम दोहन गरेर बिजुली उत्पादन गरेर औद्योगिकरण गर्दा ठूलो परिमाणमा रोजगारी सृजना हुन्छ र प्रवासी नेपालीले पनि आफ्ना मातृभूमिको सेवा गर्दै आत्मसन्मानपूर्वक जीवनयापन गर्न सक्ने अवस्था सृजना हुनेछ ।
औद्योगिकरणबाट रोजगारी सृजना भएर मात्र लाभ पुग्ने होइन । अहिले नेपालको अर्थतन्त्र व्यापार घाटा र शोधनानन्तर घाटाले जर्जर भएकोछ । औद्योगिकरण भएर उत्पादन बृद्धि हुंदा आयात प्रतिस्थापन र निर्यात बृद्धि भएर व्यापार घाटा र शोधनानन्तर घाटा घट्न गएर नेपालको अर्थतन्त्र पनि सुदृढ हुन्छ ।
जलश्रोत र यातायात
जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरु निर्माण गरिएमा उत्पादित बिजुलीको अत्यधिक उपयोग गरेर यातायातको बिद्युतिकरण गर्न सकिन्छ र पेट्रोलियम पदार्थको अत्यधिक आयातको कारण भईराखेका व्यापार घाटा र शोधनानन्तर घाटा पनि न्यूनिकरण गर्न सकिन्छ । अहिले तपाईहरु कतिपय मित्रहरु बेलाबखत आफ्नो जन्म घर जांदा बाटो घाटो नभएर दुखकष्ट साथ घर जानु हुन्छ भने मनग्गे बिजुली भएमा डांडाकांडामा केबलकार निर्माण गरेर पनि तपाईहरु सहजताकासाथ यात्रा गर्न सक्नुहुन्छ ।
यस्तै बहुउद्देश्यीय आयोजना निर्माण गरेर ठूला नदीहरु र मावन निर्मित जलाशयहरुमा स्टीमरबाट यात्रा गर्न सकिन्छ । यस प्रकारको यातायातमा इन्धन लागत ८० प्रतिशत भन्दा बढीले सस्तो हुने हुनाले यात्रा, ढुवानी लागत घटेर पनि नेपालीहरु लाभान्वित हुन सक्छन् । जलपरिवहन पनि व्यवसायको रुपमा विकास हुंदा प्रवासी नेपालीले नेपालमा व्यवसाय गर्ने र रोजगारी गर्ने अवस्था सृजना हुन्छ ।
लगानिको अवसर
जलश्रोतमा आधारित आयोजनाहरु निर्माण गरिएमा तपाईहरुले पनि लगानि गर्ने अवसर पाउनु हुनेछ र नेपालको जलश्रोतबाट नेपालीहरु लाभांश पाएर समृद्ध बन्न सक्नेछन् । अहिले बैदेशिक लगानि ल्याउनको लागि भन्दै लम्पसारवादीहरुले ठूलो कसरत गरिराखेका छन् । जस्तै आयमा लाग्ने कर समेत छूट दिने प्रपञ्च गर्दैछन् । मेरो सिद्धान्तमा बिदेशीलाई यस्तो छूट दिएर गाई मारेर (राज्यलाई राजश्वबाट बंचित गरेर) गधा पोस्ने काम गर्नुहुंदैन । यस्तो छूट दिने हो भने हामी नेपालीहरुलाई लगानि गर्ने अवसर दिइनुपर्छ र आयकर छूटबाट लाभान्वित हुने अवसर पनि तपाई हामीले नैं पाउनुपर्छ ।
अन्त्यमा
नेपालको जलश्रोत पराइको हितमा होइन पानीको बहुआयामिक लाभ नेपाल र नेपालीलाई प्राप्त हुने गरेर गरिनुपर्छ, सुख्खायाममा समेत सघन खेती गरेर, औद्योगिकरण गरेर । साथै जलश्रोतमा आधारित आयोजनाहरुमा लगानि गरेर पनि स्वदेश बिदेशमा बस्ने नेपालीले लाभ लिने वातावरण बनाइनुपर्छ, बन्नैपर्छ र हामी यस्तो वातावरण बनाउन कटिबद्ध छौं र संघर्षरत पनि । अनि जलश्रोतबाट बहुआयामिक लाभ प्राप्त हुंदा लगानि गरेर व्यवसाय संचालन गर्ने र मनग्गे रोजगारी उपलब्ध भएर कोहि पनि नेपालीले आाफ्नो मातृभूमि छाडेर मुग्लान जानुपर्ने अवस्था आउंदैन ।
२०७१ आश्विन ७ गते सातौं अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्र
1 comment:
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:
Post a Comment