Monday, July 11, 2011

जलश्रोतमा "ज्ञानेन्द्रपथ" किन यति धेरै प्रीय ?

यस पंक्तिकारको "जलश्रोतमा 'ज्ञानेन्द्रपथ'" शिर्षकको लेख २०६८ आषाढ १३ प्रकाशित भएकोमा त्यसको भोलि पल्टै भैंसेपाटी ललितपुरका नवीन पौडलको नाममा कान्तिपुरमा विशेष महत्वकासाथ प्रतिकृया प्रकाशित गरियो । जसमा आधारहीन, असत्य कुराहरु मात्र नसमेटेर मेरो भनाई समेत तोडमरोड गरेको देखियो । यसको प्रतिउत्तर कान्तिपुरमा पठाइएतापनि प्रकाशित भएन ।

उक्त पाठक पत्रमा मैले "आफूलाई जलश्रोत बिज्ञका रुपमा प्रस्तुत गर्छन" भनिएकोछ । यसको ठीक बिपरित विशेष गरेर टेलिभिजन र रेडियोले यस्तो कुनै खिताब पहिर् याइएको अवस्थामा तत्कालै नकार्ने गरेकोछु र आफूले आफैलाई किहं कतै पनि जलश्रोत बिज्ञको रुपमा प्रस्तुत गरेकोछैन । जलश्रोत क्षेत्रको अध्ययन तथा विश्लेषण गर्ने गरेकोले जलश्रोत विश्लेषक भनेर सम्म चिनाउने गरिएकोछ । पौडेलजीलाई अन्यथा प्रमाणित गर्न मेरो चुनौति छ ।

हुनत के कस्ता व्यक्ति जलश्रोत बिज्ञ हुने भन्ने मानक किहं कतै बनेको छैन । डाक्टर इन्जिनियर कानून व्यवसायी चार्टर्ड एकाउन्टेन्ट जस्तो शैक्षिक/प्राज्ञिक/व्यबसायिक योग्यता हासिले गरे जस्तै जलश्रोत बिज्ञ बन्नको लागि न्यूनतम् योग्यता तोकिएको छैन । व्यवस्थापन तथा कानून विषयमा उच्च शिक्षा हासिल गरेर वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा कानून व्यवसायी बनेको यस पंक्तिकारले जलश्रोत क्षेत्रमा सतहि विश्लेषण गरेर ब्यापकरुपमा भ्रान्ती फैलाउने र नेपालको राष्ट्रिय स्वार्थ बिपरित काम हुने भएकोले कलम चलाउन थालेको हो । लेखको प्रत्येक बुंदाको ठोस रुपमा खण्डन आएमा भ्रमको खेतीमा केहि कम हुने अपेक्षा गर्न सकिन्छ । तर गलत आरोप लगाएर सत्य झुठल्याउन सकिन्न आंखा चिम्लिदैंमा नाकमा बसेको िझंगाको अस्तित्व समाप्त हुन्न ।

नदीमा बगेको पानी लगायत प्राकृतिक श्रोतमा पहिलो अधिकार स्थानिय बासिन्दाको हुने सर्वमान्य सिद्धान्त हो । तर यसको सन्दर्भ समेत बुझ्न जरुरी छ अन्तर्राष्ट्रिय सन्दर्भमा नेपाली जनता स्थानिय बासिन्दा मानिन्छन् भने अन्तरदेशिय सन्दर्भमा कर्णालीको पानीबाट उत्पादित पानी तथा बिजुलीमा जलाधार क्षेत्रमा बसेका जनताको पहिलो अधिकार हुन्छ अन्यत्रका बासिन्दाको तुलनामा । अर्को शब्दमा कर्णाली नदीको जलाधार क्षेत्रका जनतालाई अंध्यारोमा र अविकसित राखेर त्यहांको बिजुली देश भित्रै अन्यत्र उपयोग गर्न मिल्दैन भने नेपाली जनतालाई अंध्यारोमा र अविकसित राखेर भारत निकासी गर्न मिल्दैन ।

नवीन पौडेलहरु किन नेपाललाई अंध्यारोमा राखेर सस्तो तथा उच्चगुणस्तरको बिजुली भारत निकासी गर्ने अझ सस्तो बिजुली भारत निकासी गरेर नेपालमा उर्जा संकट निवारणार्थ भन्दै महंगोमा आयात गर्ने गरेर आयोजना निर्माण गर्न उद्यत छन् बुझ्न कठीन छ । माथिल्लो कर्णाली आयोजनालाई जलाशययुक्तरुपमा निर्माण गरेर त्यहांको १५ लाख हेक्टर जमिनमा सुख्खायाममा समेत िसंचाईको लागि पानी उपलब्ध भएर सघन खेती बहुबाली नगदे बाली बेमौसमी फलफूल तरकारी खेती गरेमा सुदूर पश्चिमााचल तथा मध्य पश्चिमााचल विकास क्षेत्रका किसानहरु धेरै लाभान्वित हुने अवस्था छ अनिकाल इतिहाँसमा समेटिएर खाद्य सुरक्षा सुनिश्चित हुने कुरा नवीन पौडेलहरुलाई किन मन पर्दैन भन्ने कुरा बुझ्न कठिन छ । यो एउटै आयोजनाले यस क्षेत्रको सुनौलो भाग्यरेखा कोर्न सक्दछ । यस क्षेत्रबाट ठूलो संख्यामा युवा भारत तथा तेश्रो मुलुक पलायन भएकोमा मातृभूमी फर्कने बाटो खुल्दछ ।

सम्झन के जरुरी छ भने बिगतको यस्तै गलत नीतिले गर्दा यत्ति सानो मुलुकलाई आत्मनिर्णयको अधिकार सहित जातीय आधारमा बिखण्डन गर्नुपर्ने मांग सशक्तरुपमा उठेकोछ र यस्तोमा स्थानिय बासिन्दाको मांग सम्बोधन गर्न ढिलो गर्ने हो भने देशको अस्तित्व नैं समाप्त हुने अवस्थामा चांडै पुगिन्छ ।

म कहिल्यै पनि िहंसाको पक्षमा रहिन र रहने छैन । उक्त लेखमा पनि "बिरोधको नाममा िहंसात्मक तरिका अलवम्बन गर्नु जायज मान्न सकिन्न त्यो निन्दनिय छ" भनेकोछु । तर पौडेलजीले यो वाक्यांशलाई तोडमरोड गरेर "तोडफोड गर्नुलाई नाजायन मान्न सिकंदैन भन्दै छन" भनेर गलत उद्धरण गरेर आफ्नो अभिष्ट स्पष्ट पारेकाछन् । यसबाट "दहीचिउरे" कुरा, वहांको वाक्यांश पैंचो िलंदै, कसले गर्दैछ भन्ने कुरा प्रष्ट हुन्छ ।

आयोजना प्रति स्थानिय बासिन्दाको अपनत्व जगाइएमा सेना परिचालन आवश्यक हुन्न र यस कुराको पुष्टि माथिल्लो तामाकोशीले दिईसकेकोछ । नेपाललाई अंध्यारोमा र अविकसित राखेर भारत बिजुली निकासी गरेकोले हुने बिरोध/आक्रोसको व्यवस्थापन सेना तैनाथ गरेर गर्न सकिन्छ भन्ने सोच नैं बौद्धिक स्खलनको परिचायक हो ।

नेपाल पेट्रोलियम पदार्थको लागि भारतमाथि निर्भर रहे जस्तै भारतलाई नेपालको बिजुलीमा निर्भर गराउने सोच आत्मरती मात्र हो । अझ नवीन पौडेलहरुको यस्तै सोच बारे भारत जानकार हुनाले २०३० को दशकमा चिसापानी कर्णालीमा १० हजार ८ सय मेगावाट निर्माण गर्ने उपक्रम शुरु भएपछि यो आयोजनाको सुरक्षाको जिम्मा भारतले पाउनु पर्ने अवधारणा अघि सारिए पछि कार्यान्वयनको काम रोकिएको जानकारी वहांलाई रहेनछ । भारत माथि नेपाल निर्भर रहंदा नेपालले केहि गर्न सक्दैन तर नेपाललाई कज्याउन भारतले के गर्दो रहेछ भन्ने बुझ्न २०४५/४६ सालमा भारतले लगाएको नाकाबन्दी सम्झे पनि पुग्छ । तसर्थ नेपालको लागि भारत बिरुद्ध जलबिद्युत अस्त्र हुन सक्दैन भने पेट्रोलियम पदार्थको लागि भारत माथिको निर्भरता बेला कुबेलामा नेपाली शासकवर्गलाई घुंडा टेकाउने अचुक अस्त्र धेरै पटक साबित भई सकेकोछ । बरु भारतलाई नेपालको बिजुलीमा निर्भर बनाउने सोम शर्माको कल्पनाले नेपाललाई भुटान/सिक्कीम बनाउने बाटो खुल्दछ । तसर्थ यस पृष्ठभूमिमा बुद्धिमत्ता पूर्ण कार्य के हुन्छ भने सस्तोमा बिजुली भारत निकासी गर्नुको सट्टा यातायातलाई सकेसम्म बिद्युतिकरण गरेर पेट्रोलियम पदार्थको लागि परनिर्भरता घटाउने जसबाट नेपालको ब्यापार घाटा तथा शोधनान्तर घाटा पनि घटाउन सकिन्छ । के पनि स्मरणिय छ भने यातायातलाई बिद्युतिकरण गरिएमा ढुवानी भाडामा पनि ठूलो कमी आएर नेपाली लाभान्वित हुनेछन् ।

भारतलाई बिजुली बेच्नै हुन्न भन्ने पनि होइन तर नेपाललाई अंध्यारोमा राखेर द्रुत गतीमा आर्थिक बृद्धि गर्नको लागि आवश्यक बिजुलीबाट देशलाई बंचित गरेर सस्तोमा निकासी गर्ने अनि नेपालमा लोडसेिडंग निराकरण गर्ने नाममा महंगोमा बिजुली आयात गर्नु मुर्खता हो ।

मैले भारतको बिरोध गरेको नभएर नेपालको स्वार्थ सम्बर्धन गरेको हो र नेपालको हितको लागि काम गर्दा भारतको बिरोध गरेको ठहर्छ भने म भारत बिरोधी कहलिन तैयार छु । तर कुन मुलुकको गोटी बनेर व्यक्तिगत लाभ लिएर वा नलिएरै भारतको बिरोध गरेको हो नवीन पौडेलहरुलाई प्रमाणित गर्न आग्रह छ । तर भारतको पक्षपोषण गर्नेहरुले व्यक्तिगत लाभ लिएर गर्छन् वा नलिएरै गर्दछन् भन्ने जानकारी मलाई भएन । भारतको पक्षपोषण गरेकोको दशांस मात्र पनि नेपालको हितलाई दृष्टिगत गरेर सोच्न र बोल्न सबैलाई अनुरोध छ ।

म निरंकुश राजतन्त्रको पक्षधर कहिल्यै हुनसकिन । पंचायत उत्कर्शमा पुगेको समयमा सबै नेपाली पंच र सबै पंच नेपाली भन्दै पंचायती व्यवस्था पूर्णतः लोकतान्त्रिक मानिएको बेलामा पनि मैले राजतन्त्र निरंकुश हो भन्ने प्रमाणित गरेर २०४० सालमा लेख प्रकाशित गराएको थिएं जुन इन्टरनेटमा पनि उपलब्ध छ (http://www.ratnasansar.com/2009/01/blog-post_21.html । २०५९ सालमा नेपाल बिद्युत प्राधिकरणमा राजतन्त्रको समर्थन गर्ने शर्तमा संचालक समितिको सदस्य बनेको थिईन । यस्तो कुनै प्रमाण भए प्रस्तुत गर्न हांक दिन्छु । गुण दोषको आधारमा हरेकको कदमको बिबेचना गर्नेगर्दछु । उदाहरणार्थ गोकर्ण बिष्टको राम्रो कदमको सराहना तथा ज्ञानेन्द्र शाहको खराब कदमको आलोचना स्वाभाविक रुपमा गरिन्छ ।

"जलबिद्युतमा तरक्की" भनेको नेपाललाई अंध्यारोमा राख्ने नेपाललाई औद्योगिकरण गर्नको लागि बिजुलीको व्यवस्था नगर्ने पेट्रोलिम पदार्थको लागि अनन्त काल सम्म भारतमाथि निर्भर राख्ने हो भने त्यस्तो "तरक्की" नेपाललाई आवश्यक छैन । यस पृष्ठभूमिमा नवीन पौडेलहरुलाई तीन प्रश्न छन् आशा छ युक्तिसंगत तथा सन्तोषजनक उत्तर प्राप्त हुनेछः

१. नेपालको आवश्यकता पूर्ति गरेर मात्र बिजुली भारत निकासी गराउने अवधारणा प्रति किन असहिष्णु हुनुहुन्छ गोली चलाउने व्यवस्था सहित सेना तैनाथ गरेर भएपछि स्थानिय बासिन्दालाई आयोजनामा लगानि गर्न व्यवस्थापनमा सहभागिता जनाउन र उत्पादित बिजुली उपयोग गर्नबाट स्थानिय बासिन्दालाई बंचित गराउन किन विशेष जोड गिरंदैछ ?

२. नेपाली जनतालाई बंचित गरेर भए पनि बिजुली र पानी भारत निकासी गर्ने नैं भए पनि माथिल्लो कर्णाली आयोजनालाई पूर्ण क्षमतामा कार्यान्वयन गरेर ९ सय मेगावाटबाट प्राप्त हुने रोयल्टीको ४ गुणा रोयल्टी र जलाशयमा संचित वर्षातको पानी सुख्खायाममा भारतलाई उपलब्ध गराएर वार्षिक ५२ अर्ब रुपैया नेपालले आर्जन गर्ने अवसर किन त्याग्न चाहनुहुन्छ अर्थात भारतलाई अनुचित ढंगबाट किन लाभान्वित गराउन चाहनुहुन्छ ?

३. के नेपालको स्वार्थ आत्मसमर्पण गरेरै भए पनि यो आयोजना निर्माण गरिनैपर्छ ?



रत्न संसार श्रेष्ठ

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा अधिवक्ता
Ratna Sansar Shrestha

No comments: