Monday, November 2, 2009

मेलम्चीले काठमाडौं उपत्यकाको खानेपानी समस्याको समाधान गर्दैन

काठमाडौं उपत्यकाको खानेपानी समस्या विकराल छ भनिरहन आवश्यक छैन । भाग्यमानि उपभोक्ताको धारामा दैनिक केहि घण्टा पानी आउंछ भने अन्यले ३/४ दिन बिराएर एक/डेढ घण्टा पानी धारामा थाप्न पाउंछन् । केहि घण्टा धारामा पानी आउने उपभोक्ता मध्ये धेरैजसोको घरमा सुत्नुपर्ने समयमा पानी आउंछ र निन्द्रा बिथोलेर भएपनि पानी थाप्न बिबस छन् । बांकीले खानेपानी नपाए पनि खानेपानी महशूलको बिल चािहं नियमित रुपमा पाउंछन् ।

हाल न्यूनतम मासिक १० हजार लिटर पानीको ५० रुपैया महशूल लाग्छ । तर धारामा पानी नआएर त्यत्तिकै परिमाणको पानी ट्यांकरबाट खरिद गर्न भने १८ सय ९५ रुपैया खर्च गर्नुपर्छ । सेवाप्रदायकले यथोचित आपूर्तिको व्यवस्था गर्न सकेको भए उपभोक्ताले यसरी बढी खर्च गर्नुपर्ने थिएन । सिन्धुपाल्चोकमा बग्ने मेलम्ची नदीको पानी सुरुङ्गमार्गबाट काठमाडौं ल्याएपछि समस्याको समाधान हुन्छ भनिएकोछ । बुझिए अनुसार सुख्खायाममा मेलम्चीमा बग्ने दैनिक लगभग २० करोड लिटर मध्ये १७ करोड लिटर काठमाडौं उपत्यकामा आपूर्ति गरिनेछ । हाल आपूर्ति हुंदै गरेको साँढे ९ करोड लिटरमा १७ करोड लिटर थिपंदा साँढे २६ करोड लिटर उपलब्ध हुन्छ भने लक्षित गरिएअनुरुप सुरुङ्गमार्गको काम सन् २०१३ मा सम्पन्न भएमा दैनिक ३५ करोड लिटर मांग हुने हुनाले केहि राहत पुग्ने देखिन्छ ।

तर वास्तवमा राहत हुने सम्भावना भने न्यून छ । किनभने हाल आपूर्ति हुंदै गरेको भनिएको साँढे ९ करोड लिटर मध्ये आधा भूमिगत श्रोतको हो, जसको सतह घटेर आपूर्ति पनि घट्दो छ । यस्तै काठमाडौं उपत्यकाको बितरण सन्जालबाट ४० प्रतिशत चुहिएर खेरजाने कुरा सम्बन्धित संस्थाले आधिकारिकरुपमा स्वीकारेको अवस्था छ । त्यसकारण मेलम्चीको पानी यहां आपूर्ति हुन थाले पछि उपभोक्तालाई वस्तुतः १२/१३ करोड लिटर मात्र बितरण गर्नसकिने छ र ३५ करोड लिटर मांग हुने हुनाले अभावबाट राहत हुने अवस्था छैन । यो स्थिति सन् २०१३ मा हुनेछ भने त्यस पछिका वर्षहरुमा मांगमा क्रमिकरुपमा बृद्धि हुंदै गएर समस्या उत्तरोत्तर रुपमा अझ विकराल हुंदै जान्छ ।

हुन त यसरी उत्तरोत्तररुपमा बढ्ने मांगलाई सम्बोधन गर्नै भनेर दोश्रो र तेश्रो चरणमा क्रमसः यांग्री र लार्केबाट थप १७/१७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने अवधारणा नभएको होइन । तर अवधारणा बनेको ३० वर्ष पछि बल्ल केहि गम्भिरतापूर्वक मेलम्चीमा काम थाल्ने उपक्रम भएको परिप्रेक्ष्यमा यांग्री र लार्के सम्पन्न हुन अरु धेरै समय लाग्नु अस्वाभाविक हुन्न र मेलम्ची आयोजना सम्पन्न भएपछि पनि काठमाडौं उपत्यकाका बासिन्दाले खानेपानीको चर्को समस्या ब्यहोर्न पर्ने समय पनि लामै हुने सम्भावना पनि उच्च छ ।

यस पंक्तिकार संलग्न एउटा स्वयम्सेवी अनौपचारिक समूहलॆ बहुउद्देश्यीय मेलम्चीको अवधारणा अगाडी ल्याएकोछ जुन कार्यान्वयन भएमा भने काठमाडौं उपत्यकाको खानेपानी समस्या दीर्घकालिनरुपमा समाधान मात्र नभएर मध्यमान्चल विकास क्षेत्रको बिद्युत संकटको समस्या समेत समाधान हुनेछ । यस अवधारणा अन्तर्गत ढलमतीको रुपलिईसकेको बागमती नदीले पुनर्जीवन पाउनेछ भने बागमतीमा जलपरिवहन पनि संचालन गर्नसकिनाको अलावा बारा रौतहट र सर्लाही जिल्लाको झण्डै ४० हजार हेक्टर जमिनमा सुख्खायाममा समेत िसंचाई गर्न मिल्नेछ । मनग्गे खानेपानी आपूर्तिको व्यवस्था गर्न बागमती नदीलाई नवजीवन दिन र तराईमा िसंचाई गर्न थप छुट्टै लगानि पनि गर्न आवश्यक छैन, करिब ६० करोड डलरको लागतमा २ सय ६५ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण गर्ने व्यवस्था गरिएमा बांकी सबै कुरा स्वतः सम्भव हुन्छ ।

हालको अवधारणामा खानेपानीको लागि दोश्रो र तेश्रो चरणमा यांग्री र लार्केबाट पानी ल्याउने भनिएकोमा बहुउद्देश्यीय मेलम्ची आयोजनाको अवधारणा बमोजिम यी दुई नदीको अलावा बलेफी समेतबाट गरेर थप ९५ करोड लिटर पानी काठमाडौं ल्याउनाले २ सय ६५ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण हुन्छ; सिन्धुपाल्चोकको टिम्बुमा ५० मेगावाट र दक्षिणकाली मन्दीरबाट १९ किलोमिटर दक्षिण पूर्वमा अवस्थित हुने आयोजनाबाट २ सय १५ मेगावाट । यी दुवै आयोजनाको लागत ६० करोड डलर पर्ने अनुमान गरिएकोछ । बहुउद्देश्यीय आयोजनाको मुहान हेलम्बुको नुकुटे भन्ने ठाउंमा मेलम्ची नदीमा निर्माण गर्नु पर्ने हुन्छ जसको लागि बलेफीको पानी लार्के र यांग्रीको पानीमा थप्दा काठमाडौं उपत्यकामा दैनिक १ अर्ब १२ करोड लिटर पानी उपलब्ध हुन्छ ।

यो परिमाणमा काठमाडौं उपत्यकामा पानी आपूर्ति भएको अवस्थामा प्रत्येक उपभोक्ताको धारामा हरदम पानी आउने हुन्छ र गैर कानूनी रुपमा बितरण संजालबाट सोझै पम्प लगाएर पानी तान्ने बाध्यता, घर मुनि र छानामाथि पानी संचय गर्ने ट्यांकीहरु राख्ने, अनि पानी तान्ने र माथि फाल्ने गरेर दुईवटा पम्प लगायतमा लगानि गर्ने बिबसताबाट पनि उपभोक्ता मुक्त हुनेछन् । यस प्रयोजनमा खपत हुने बिजुलीको पनि बचत हुन्छ । यस परिवेशमा उपभोक्ताले हाल बहन गर्नु परेको वित्तिय भारमा धेरै नैं कमी आउने निश्चित छ ।

बहुउद्देश्यीय अवधारणा कार्यान्वयन गर्दा टिम्बुमा निर्माण गर्न प्रस्तावित मेलम्ची आयोजनाको मुहान र माटो बालुवा थेग्राउने संरचना पनि बनाउन आवश्यक पर्दैन; यी दुवै संरचना बिद्युत आयोजना अन्तर्गत नुकुटेमा निर्माण हुन्छ र यस हद सम्म हालको मेलम्ची आयोजनाको लागत पनि घट्छ । साथै दोश्रो र तेश्रो चरणको नाममा काठमाडौं उपत्यकाको लागि यांग्रीबाट मेलम्ची सम्म ७ किलोमिटर र लार्केबाट यांग्री सम्म ४ किलोमिटर सुरुङ्ग निर्माणमा थप लगानिको व्ययभार पनि खानेपानीको शिर्षकमा बहन गर्न पर्दैन ।

बिद्युत संकटले गांजेको मध्यमााचल विकास क्षेत्रमा यसरी उत्पादन हुने बिजुली सजिलै खपत हुन्छ; विषेश गरेर बागमती नदीमा निर्माण हुने आयोजनाबाट उत्पादित बिजुलीले बिरगंज-परवानिपुर करिडरमा अवस्थित उद्योगहरुलाई ठूलै राहत दिनेछ ।

यसरी काठमाडौं उपत्यकामा दैनिक १ अर्ब १२ करोड लिटर पानी भित्रिएपछि उपभोक्तालाई मनग्गे पानी बितरण गर्न सकिन्छ र बितरित पानी मध्ये ८५ प्रतिशत गैर उपभोग्य (पिउन र खाना बनाउन) खपत हुने बाहेक (जस्तै नुहाउन लुगा धुन प्रयोग हुने खपत हुन्छ) र बिभिन्न नदी नाला हुंदै बागमती नदीमा फर्कन्छ जसको परिमाण दैनिक ९५ करोड लिटर हुने अनुमान छ । सुख्खायाममा समेत यो परिमाणमा पानी बागमती नदीमा बग्न थाले पछि अहिलेको ढल बग्ने गरेको नदीले निश्चय पनि नवजीवन पाउनेछ । यसको अर्थ हाल काठमाडौं उपत्यकाका बासिन्दाले अवलम्बन गरेको ढल सोझै नदीमा मिसाउने असभ्य प्रचलनलाई निरन्तरता दिए हुन्छ भन्ने चािहं होइन ।

हाल बागमती िसंचाई आयोजना अन्तर्गत तराईको बारा, रौतहट र सर्लाहि जिल्लामा िसंचाई भईरहेकोछ, तर यो िसंचाई वर्षातको पानीमा निर्भर छ । सुख्खायाममा पनि बागमती नदीमा दैनिक ९५ करोड लिटर पानी उपलब्ध भए पछि यी जिल्लाहरुमा झण्डै ४० हजार हेक्टरमा िसंचाई सम्भव हुन्छ र यति जमिनमा कम से कम ३ बाली अझ ४ बाली लाग्ने अवस्था हुन्छ जसले गर्दा यस भेगका किसान समृद्धशाली हुनेछन् ।

समग्रमा काठमाडौं उपत्यकाको खानेपानी, बिद्युतिय संकट र मृतप्रायः बागमती नदीको समस्याको समाधान बहुउद्देश्यीय मेलम्चीको अवधारणा कार्यान्वयन गरेर मात्र सम्भव छ । यस अवधारणाको सौदर्य भनेको हिमालको पानीबाट तराईका बासिन्दा समेत लाभान्वित हुनुमा छ, जसको लागि थप लगानि पनि आवश्यक पर्दैन । २ सय ६५ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माण गरिएमा हाल लक्षित गरिए भन्दा दैनिक ९५ करोड लिटर थप पानी पनि कुनै अतिरिक्त लगानि बिना उपलब्ध हुन्छ । आशा गरौं समय छंदै नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरुले कुरा बुझ्नेछन् र रातभर रुङ्गदा पनि के चािहं जिउंदै भने जस्तो आयोजना सम्पन्न भएपछि पनि खानेपानीको समस्या बिद्यमानै रहने गरेर आयोजना बनाउने छैनन् ।
Ratna Sansar Shrestha
यसको केहि अंश कार्तिक १६ - २९, २०६६ को हिमाल खबरपत्रिकामा प्रकाशित भएको छ ।

No comments: